काठमाडौं । विश्व प्रसिद्ध अमेरिकी दैनिक द न्युयोर्क टाइम्सले प्रख्यात नेपाली आरोही निम्स दाई अर्थात् निर्मल पुर्जामाथि एक महिला मोडल तथा आरोहीलाई गलत ढंगले व्यवहार गरेको आरोप लगाएको छ ।
पूर्व मिस फिनल्यान्डकी विजेता महिला हिमाल आरोही लोत्ता हिन्त्साले टाइम्सका पत्रकार आना कालाघान तथा जेनी भ्रेन्टाससँग आफ्नो कुरा खोलेकी कुरा सो पत्रिकाले जनाएको छ ।
पूर्व मिस फिनल्यान्ड हिन्त्साले २०८० पुसमा प्रकाशन गरेको आफ्नो जीवनीमा काठमाडौंमा २०७० सालको चैत महिनामा एक व्यापारिक भेटघाटकाबीच एक पुरुषले एक होटलको आफ्नो सुइटमा अचानक चुम्बन गरेको कुरा लेखेकी थिइन् ।
तर, टाइम्सको अन्तवार्तामा भने उनले त्यो पुरुषको नाम लिएकी छिन्, उनले नाम लिएका पुरुषको नाम हो निम्स पुर्जा । सो अन्तवार्ताका अनुसार पुर्जाले उनलाई कोठामा बोलाएर लुगाहरू उतारिदिएको र जबर्जस्ती गर्न खोजेको तर अन्त्यमा आफैले हस्तमैथुन गरेर चित्र बुझाएको बताएकी छिन् ।
निम्स दाई नामले प्रख्यात ४१ वर्षीय निर्मल पुर्जा नेपालको म्याग्दीमा सन् १९८३ सालमा जन्मेका हुन् । हाल उनी बेलायती नागरिक हुन् । उनले बेलायतको नागरिकता २०८० सालको मंसिर महिनामा मात्र लिएका हुन् ।
पुर्जाले आठ हजार मिटर माथिका सबै हिमाल चढेको नेटफ्लिक्सले बनाएको सन् २०२१ को ‘फोर्टिन पिक्सः नथिङ इज इम्मोसिबल’ डकुमेन्ट्रीले उनलाई संसारभर प्रख्यात बनाएको थियो ।
पुर्जालाई आरोप लगाउने ३५ वर्षिया लोत्ता हिन्त्सा सन् २०१३ को फिनल्यान्ड मिस युनिभर्सकी विजेता हुन् र उनले आफ्नो देशलाई प्रतिनिधित्व गर्दै मस्को, रसियामा आयोजित मिस युनिभर्स प्रतियोगितामा भाग लिएकी थिइन् ।
हिन्त्साले सन् २०१६ मा हकी खेलाडी क्रिश्चियन नकिभासँग विवाह गरेकी थिइन् जुन सम्बन्ध सन् २०१० सम्म मात्र चल्यो । त्यसपछि क्यानडाका हिमाल आरोही डन बोईसँग उनको प्रेम सम्बन्ध २०२१ देखि २०२३ सम्म चलेको विकिपिडियामा उल्लेख छ । उनको युट्युब च्यानल पनि छ । ‘हाई अल्टिच्युड एक्सपिरियन्स’ जहाँ उनी अनेक प्रकारका सल्लाह, सुझाव र आफ्नो बारेमा बताउँछिन् । न्युयोर्क टाइम्सबाट ।