• बैशाख २० २०८३, आईतवार

सिराेहियाकाे गिरफ्तारी प्रतिशाेधपूर्ण छ : पत्रकार महासंघ

जेष्ठ ८ २०८१, मंगलवार

काठमाडौँ  । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेकाे घटना प्रतिशाेधपूर्ण रहेकाे बताएकाे छ ।

नागरिकता किर्ते कसुरमा मंगलबार साँझ प्रहरीले सिराेहियालाई पक्राउ गरेकाे छ । यसप्रति गम्भीर ध्यानाकर्षण भएकाे महासंघले जनाएकाे छ ।

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ महासचिव राेसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने विज्ञप्तिमा भनिएकाे छ ।