• जेष्ठ ५ २०८१, शनिबार

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने – अर्थमन्त्री पुन

बैशाख १९ २०८१, बुधबार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

मंगलबार मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले .प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो तर अर्थमन्त्री पुनले उक्त प्रक्षेपणलाई विश्वास गरेको देखिएन । अर्थमन्त्री पुनले अर्थ मन्त्रालयले मुलुकमा पछिल्लो समय भएका आर्थिक गतिविधि र प्रयास हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको दाबी गरे । उनले विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ र एशियाली विकास बैंकले ३.६ भनेको भए पनि त्यो भन्दा अझ राम्रो हुने संकेत रहेको उल्लेख गरे ।

अर्थमन्त्री पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखापरेको र अझै ३ महिना आर्थिक गतिविधि हुन बाँकी रहेकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण भन्दा वृद्धि हुने जिकिर गरे । उनले सरकारले गर्ने पुँजीगत खर्च अबको तीन महिनामा वृद्धि हुने बताए ।

अर्थमन्त्री पुनले आन्तरिक र वाह्य कारणले अर्थतन्त्र शिथिलता भएपनि पछिल्लो समय शिथिलताबाट बाहिर आउन थालेको बताए । केही सकारात्मक संकेतहरु देखापरे पनि अझै ढुक्कले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था भने नरहेको उनको भनाइ थियो ।

अर्थमन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए । आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको बताए ।