• जेष्ठ ५ २०८१, शनिबार

देशमा आर्थिक मन्दी यथावत् रहेको सङ्केत

बैशाख १९ २०८१, बुधबार

चालु आर्थिक वर्ष २८०/२०८१ मा नेपालको निर्माण खर्चमा सङ्कुचन देखिएको छ । यसका साथै उद्योगको क्षेत्रमा पनि सङ्कुचन देखापरेको छ । यो भनेको मन्दीको सङ्केत हो । चालु आर्थिक वर्षको वार्षिक राष्ट्रिय लेखा अनुमान तथ्याङ्मा यो अवस्था देखा परेको हो ।

यस वर्ष निर्माण क्षेत्रमा २.०७ प्रतिशतले सङ्कुचन आएको तथ्याङ्कमा देखा परेको छ । त्यसै गरी उद्योगमा १.६० प्रतिशतले कमी आउँदा मन्दीको सङ्केत देखिनपुगेको हो । मात्र यस वर्षको घरजग्गा कारोबारमा आर्थिक वर्षको अन्त्यसम्ममा २.९८ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको छ ।

होटल, रेष्टुराँ, लज आदिललगायतका आवास तथा भोजन सेवामा भने यस आर्थिक वर्षमा राम्रै प्रगति रहेको देखिन आएको छ । यो क्षेत्रमा मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा राम्रो रहेको छ ।

पर्यटन क्षेत्रमा सुधार हुँदै गएको देखिएको छ । पर्यटकको आवागमनमा सङ्ख्यात्मक रूपमा सुधार भइरहेको छ । यसले पर्यटन क्षेत्रको आर्थिक वृद्धिदर राम्रो देखापरिरहेको छ ।

जलविद्युत उत्पादनमा केही बढी लगानी र ग्यास क्षेत्रको वृद्धिदर सन्तोषजनक रहेको छ । जलविद्युत तथा ग्यासमा १७.४४ प्रतिशत लगानी रहेको देखिएको छ ।

यातायात तथा भण्डारण क्षेत्रमा पनि सन्तोषजनक वृद्धिदर देखा परेको छ । यसमा ११.८९ प्रतिशत बृद्धिदर रहेको छ । वित्तीय तथा बीमा सेवा क्षेत्र पनि राम्रो रहेको छ । यसमा वृद्धिदर ७.८६ प्रतिशत रहेको छ ।

तर देशको अर्थतन्त्रमा निकै ठूलो हिस्सा राख्ने कृषि क्षेत्रमा सुधार आउन सकिरहेको छैन । कृषि उत्पादन घट्दो क्रममा रहेकाले यो क्षेत्र निराशाजनक देखा परिरहेको छ । खेतबारी बाँझिने क्रम जारी छ ।

अवस्था कतिसम्म भयाबह छ भने देशको कूल एक चौथाइ योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर मात्र ३.०५ प्रतिशत रहेको देखिएको छ । यो चिन्ताजनक अवस्था हो ।

नेपालमा उत्पादन एकदम न्युन छ । बाह्य उत्पादन देशमा भित्र्याएर थोक तथा खुद्रा व्यापार चलिरहेको छ । यो क्षेत्रको वृद्धिदर पनि निराशाजनक छ । बजार मन्दीको अवस्थामा छ । यसको बृद्धिदर जम्मा ०.१६ प्रतिशत देखा परिरहेको छ ।