• बैशाख २३ २०८१, आईतवार

नक्कली भुटानी शरणार्थी प्रकरणः टोपबहादुर रायमाझीसहित ११ जनाको निवेदनमाथि सुनुवाइ शुरु

बैशाख १३ २०८१, बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालत पुगेका प्रतिवादीहरुको मुद्दामा सुनुवाइ भइरहेको छ ।

गत आइतबार देखि सो मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङानाको इजलासमा सुनुवाइ भइरहेको छ । एकै पटक ११ निवेदकको पेसी भएकाले बहस बाँकी नै रहँदा हेर्दा हेर्दै राखिएको थियो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे सहित जिल्ला अदालत र उच्च अदालत पाटनबाट थुनामा गएका प्रतिवादीहरु सर्वोच्च पुगेका थिए ।

यो मुद्दाको पछिल्लो समय लगातार पेसी तोकिँदै आएको छ । बन्दीको निवेदन भएकाले सर्वोच्चले प्राथमिकता दिएर सुनुवाइका लागि पेसी तोक्दै आएको छ ।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेपछि पुर्पक्षका लागि थुनामै रहेका अभियुक्तहरुले उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा बेरितको निवेदन दायर गरेका थिए ।

अलगअलग उनीहरु सर्वोच्च पुगेपछि अदालतले एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो । ब्लक हेयरिङ पद्धति अनुसार यो मुद्दाको सुनुवाइ हुन लागेको हो ।

उच्चको आदेशले थुनामा रहेकामध्ये अधिकांश प्रतिवादीहरुले बेरितको निवेदन दर्ता गराएका थिए । उच्चको आदेशले थुनामै बस्नुपर्ने भएपछि अन्तिम विकल्पको रुपमा उनीहरु सर्वोच्च पुगेका हुन् । आज सुनुवाइ हुँदै यदि सर्वोच्चले उनीहरुलाई थुनामा राख्ने निर्णय सदर गरेमा भने मुद्दाको किनारा नभएसम्म थुनामै बिताउनुपर्नेछ। यदि सर्वोच्चले धरौटी माग गरे उनीहरु तोकिएको धरौटी बुझाएर रिहा हुनेछन् ।