• जेष्ठ ४ २०८३, सोमबार

आज वैशाख १२ गते, विनाशकारी भूकम्प गएको नेपालको इतिहासमा कहालीलाग्दो दिन

बैशाख १२ २०८१, बुधबार

काठमाडौं । वैशाख १२ गते  नेपालको इतिहासमा कहालीलाग्दो कालो दिन । वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव आठ म्याग्निच्यूटको भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो।

आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौंलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रबिन्दु गोरखामासमेत कार्यक्रम हुँदैछन्।

भूकम्पले काठमाडौं उपत्यकालगायत सोको उत्तरी भू–भागमा करिब एक मिनेट कम्पन गराएको थियो। भूकम्पको असर पूर्वमा ताप्लेजुङ, पश्चिममा रुकुम र दक्षिणमा चुरे पहाडका अधिकांश भू–भागसम्म परेको थियो। भूकम्पको झट्का भारतको दार्जिलिङ, बिहार र उत्तर प्रदेशलगायत दिल्लीसम्म पुगेको सार्वजनिक भएको थियो।

भूकम्प गएको ठीक ३४ मिनेट पछाडि १२ः३० बजे उक्त दिन सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर छ दशमलव छ म्याग्निच्यूडको कडा पराकम्पन गएको थियो। भूकम्पका परकम्पन मिनेट–मिनेटमा गएका थिए।

वैशाख १३ गते सिन्धुपालचोकलाई केन्द्रबिन्दु बनाएर गएको छ दशमलव नौ म्याग्निच्यूडको परकम्पले गोरखाबाट सिन्धुपालचोकसम्मको करिब एक सय ४० किलोमिटर क्षेत्रमा दरार उत्पन्न गरी यस क्षेत्रमा विनाश गरेको थियो।

भूकम्प र त्यसपछिका ठूला पराकम्पनसँगै चार रेक्टर स्केलभन्दा ठूला अन्य सयौँ परकम्पन एवं हजारौँको सङ्ख्यामा अरु स–साना परकम्पनले नेपालको मध्यभागलाई कम्पित र त्रसित तुल्याएको थियो।