• बैशाख २३ २०८१, आईतवार

राजीनामा बोकेर हिँडेका छौं, काम गर्न नसके राजीनामा दिन्छौं : लामिछाने

बैशाख ११ २०८१, मंगलवार

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गर्न नसकेको दिन सरकार छोड्ने बताएका छन् । मंगलबार इलामको चुलाचुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाका मन्त्रीहरूले ‘मिति नलेखेको राजीनामा पत्र’ गोजीमै बोकेर हिंडेको दाबी गरे ।

उनले सरकारमा काम गर्न सकिएन र पाइएन भने टाँसिएर नबस्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीले गलहत्याएर निकाल्न पर्दैन । टाँसिएर बस्ने काम हामी गर्दैनौं ।’

लामिछानेले कांग्रेस सरकारमा हुँदा आफ्नै पार्टीका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको भन्दै प्रमाण भेटे आफूलाई पनि नछोड्ने बताए । उनले भने, ‘प्रमाण भेट्दैनन्, त्यसैले छोडेकामात्रै हुन् ।’

उनले कानुन बनाएर भए पनि सहकारीमा जम्मा गरेको जनताको रकम फिर्ता गर्ने आश्वासन दिए । उनले सहकारीमा बचत गरेका जनताको पैसा नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि फिर्ता हुने वातावरण सरकारले बनाउने बताए ।
‘अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’ उनले भने । उनले इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बु भूगोलको प्रतिनिधित्व गर्न सक्षम व्यक्ति भएकाले उनको पक्षमा मतदान गर्न आग्रह गरे ।