• जेष्ठ ४ २०८३, सोमबार

कतारका अमिर नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

बैशाख ११ २०८१, मंगलवार

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी औपचारिक भ्रमणका लागि आज मंगलबार अपराह्न ४ बजे नेपाल आउने भएका छन् । यसै अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् । कतारी राजा थानीको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको र अरु घेरामा अन्य सुरक्षाकर्मी रहने छन्। कतारी राजालाई राष्ट्रपति पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, कतारी अमिर राष्ट्रपति पौडेलले साँझ आयोजना गर्ने राजकीय भोजमा सामेल हुनेछन् ।

अमिरले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गर्ने छन् भने भोलि नै केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । उनी भोलि नै काठमाडौँबाट फर्किने तालिका रहेको छ ।