• बैशाख २३ २०८१, आईतवार

पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका जाँच्दैनौं : शिक्षकहरु

बैशाख ९ २०८१, आईतवार

काठमाडौं । शिक्षकहरूले आफूहरूको पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने बताएका छन् । उत्तरपुस्तिका परीक्षण गरेबापत पाइने पारिश्रमिक २०७२ सालदेखि अहिलेसम्म एउटै रहेको बताउँदै शिक्षकहरूले अब पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका नजाच्‍ने बताएका हुन् ।

‘समयमा नै कापी परीक्षण तथा समपरीक्षण गरी नतिजा जतिसक्दो छिटो प्रकाशन हुनुपर्दछ भन्ने मान्यता हामी राख्दछौँ । पटकपटक ध्यानाकर्षण गर्दै आएकोमा हालसम्म न्यायोचित सम्बोधन नभएकाले समयानुकूल पारिश्रमिक वृद्धि नहुन्जेल परीक्षण कार्यमा सहभागी नहुने व्यहोरा अवगत गराउँदै पुनः ध्यानाकर्षण गराउँछौँ,’ आइतबार परीक्षा नियन्त्रकलाई सम्बोधन गर्दै उनीहरूले बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलशबहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन् ।