• जेष्ठ ४ २०८३, सोमबार

गुप्तपानी वनका पूर्वअध्यक्ष आचार्यलाई २५ लाख २४ हजार ३४६ जरिवाना फैसला

बैशाख २ २०८१, आईतवार

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कैलालीको गुप्तपानी वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष मनिराम आचार्यलाई सजाय सुनाइएको छ ।

आइतबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २५ लाख २४ हजार ३४६ जरिवाना हुने फैसला सुनाएको हो ।

आचार्यलाई जरिवानासहित पाँच वर्ष कैद सजाय पनि हुने भएको छ । सामुदायिक वनको आम्दानी व्यक्तिगतरूपमा खर्च गरेर नक्कली बिल पेस गरेको कसुरमा आचार्यलाई विशेष अदालतले गएको चैत २४ गते दोषी ठहर गरेको थियो ।

उनीसँगै प्रतिवादी बनाइएका उपभोक्ता समितिका सचिव हिक्मतसिंह भाटलाई र कोषाध्यक्ष पृथ्वीराज भाटलाई चैत ६ गते नै एक वर्ष तीन महिना कैद र ९ लाख १९ हजार जरिवाना हुने सजाय निर्धारण भइसकेको छ । त्यस्तै, अडिटर गौरीप्रसाद नाथलाई पनि त्यसबेला नै तीन महिना कैद र १० हजार जरिवाना सजाय निर्धारण भइसकेको छ ।