• बैशाख २३ २०८१, आईतवार

आज मुस्लिम समुदायले इद मनाउँदै, देशभर सार्वजनिक बिदा

चैत्र २९ २०८०, बिहीबार

काठमाडौँ । रबी पात्रो हिजरी सम्वत् अनुसार दशौँ महिनाको पहिलो दिन देशभर मुस्लिम धर्मावलम्बीले आज इद (इद उल फित्र) पर्व मनाउँदै छन् । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि ३ दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीन–दुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यस अवसरमा आज बिहान स्नान गरी नयाँ कपडा लगाएर विशेष नमाज पाठ गरेपछि ठूलाबडाबाट आशीर्वाद लिने क्रम सुरु भएको छ ।

यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्र बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने भनाइ मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दिन दुःखी एवं गरिबलाई बाँडिन्छ ।

पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।