काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’को प्रतिवेदनले काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति रामकण्ठ माकाजुलाई कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले बुझाएको सो प्रतिवेदनमा उपकुलपति माकाजुले अवैधानिक रूपमा सम्बन्धन दिएको उल्लेख गर्दै कानुनबारे सचेत गराउन भनिएको हो । ‘हालका उपकुलपति डा. रामकण्ठ माकाजुकै पालामा सन् २०१४ मा विराट मेडिकल कलेज, विराटनगर र देवदह मेडिकल कलेज, रुपन्देहीलाई तोकिएको मापदण्डअनुसारको भौतिक पूर्वाधार, फ्याकल्टीलगायतका पक्षमा ख्याल नगरी नियमावलीनै संशोधन गरी सम्बन्धन दिने नियतले बिस्तारित कार्यक्रमका नाममा सञ्चालन अनुमति दिएको र यस आयोगले स्थलगत अनुगमन गरेका समयमा समेत तोकिएका मापदण्डबमोजिमका पूर्वाधार पूर्णरूपमा पूरा गरेको नदेखिँदा उपकुलपति डा. रामकण्ठ माकाजुलाई प्रचलित कानुनबमोजिम सचेत गराउने,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार गुणस्तर सुधारका लागि माकाजुले कुनै ठोस गुरुयोजना र प्रयास गरेको नदेखिँदा यस्ता कलेज सञ्चालनका लागि सम्बन्धन दिने कार्य गरेको उल्लेख छ ।
साथै आफू र आफूले सम्बन्धन दिएका मेडिकल कलेजमा नेपाल सरकारले तोकेको शुल्क कार्यान्वयनको बेवास्ता गरी मनलाग्दी शुल्क निर्धारण गरी कार्यान्वयन गर्न सबै मेडिकल कलेजलाई निर्देशन दिएको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
‘प्राज्ञिक र प्रशासनिक नेतृत्वका हैसियतले जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्ने भएकाले उपकुलपति डा. रामकण्ठ माकाजुलाई प्रचलित कानुनबमोजिम सचेत गराउन सिफारिस गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।