काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मेयर थापाविरुद्ध आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
थापा २०७९ साल वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधिसम्म उनले स्रोत खुल्ने ७ करोड ८६ लाख ५० हजार २ सय १ रूपैयाँ जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उक्त कार्यकालका क्रममा थापाले १३ करोड २० लाख ३ हजार ३ सय ९१ रूपैयाँ खर्च देखिएको जनाएको छ । यस्तोमा उनको वैध आम्दानी र खर्च मेल नखाएको निष्कर्षसहित थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो ।
जम्मा आम्दानी तथा लगानी र खर्चबीच तादाम्यता नमिलेको निष्कर्ष अख्तियारको छ । थापाले ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध बाटोमा कमाएको पनि अख्तियारको अनुसन्धानबाट देखिएको छ । अख्तियारले थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरकै बिगो कायम गरी जरिवाना,सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।
थापाले सार्वजनिक पदमा रहँदा अवैध रुपमा कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे,भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा राखेको अख्तियारले जनाएको छ । उक्त अवैध सम्पत्ति जफतका लागि उनीहरू तीनैजनालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताएका छन् ।
मेयर थापाले बागमती नदी किनारमा भरत ताल बनाएर चर्चा कमाएका थिए। उक्त तालको नाम पनि उनले आफ्नै नाममा राखेका थिए । अहिले उक्त कृत्रिम तालमा बिदा मनाउन र घुम्न जानेको भिड लाग्ने गरेको छ ।