• बैशाख २३ २०८१, आईतवार

टेस्लालाई उछिन्दै शाओमी

चैत्र २६ २०८०, सोमबार

स्मार्टफोन निर्माता चिनियाँ कम्पनी शाओमीले विद्युतीय कार लञ्च गरेर विश्व कार बजारमा नयाँ तहल्का ल्याएको छ । अहिले यसको अर्डर लिन सुरू गरिसकिएको छ ।

अमेरिकी धनाढ्य एलन मस्कको टेस्ला कार कम्पनीले निर्माण गरेको विद्युतीय कारले एकललौटी विश्व बजारमा एकलौटी ‘रामधुलाइ’ गरिरहेको बेलामा शाओमी विद्युतीय कार यसलाई टक्कर दिने ‘पोजिशन’मा देखा परिसकेको छ ।

कम्पनीका अनुसार उसले आफ्नो पहिलो इलेक्ट्रिक कार लञ्च गरेको २७ मिनेट भित्रैमा ५० हजार वटा कारको अर्डर प्राप्त भैसकेको छ । यो सङ्ख्या दिप्रतिदिन निकै बढेर गएको छ । विश्वमा कार बिक्रिमा कमी आइरहेका बेलामा चुनौती मोलेर शाओमी नयाँ पहिचानसहित विश्व कार बजारमा प्रवेश गरेको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकृत ली जुन अहिले सन्तुष्ट मुडमा छन् । उनका अनुसार उक्त कम्पनीको स्टाण्डर्ड एसयू–७ मोडेलको कारको मूल्य दुई लाख १५ हजार ९०० युआन राखिनु न्यायपूर्ण भएको छ । एक शाओमी कारको मूल्य विश्व बजारमा २९ हजार ८७२ डलर राखिएको छ ।

चीनमा निर्माण हुँदै आएको म्याक्स भर्सनको मूल्य २ लाख ९९ हजार ९०० युआन रहेको छ । शाओमीको आगमनसँगै विश्व कार बजारमा नयाँ मूल्यमा नयाँ प्रतिस्पर्धा सुरू भएको छ ।

शाओमीले विद्युतीय कारको आगमनले टेस्ला तथा बिवाइडीजस्ता ठूला विश्व कार खेलाडीहरूलाई प्रतिस्पर्धाको रङ्गमञ्चमा उतारिदिएको छ । अमेरिकी टेस्लाको मोडेल–३ कारको सुरूवाती मूल्य २ लाख ४५ हजार ९०० युआन बराबरको थियो ।

शाओमीको एसयू–७ को तुलना पोर्शेको टेकेन तथा पानामेरासँग गरिएको सर्वत्र भेटिन्छ । शाओमी एसयू–७ एकपटक चार्ज गरिसकेपछि करिब ७ सय किलोमिटरसम्म सजिलै गुड्दछ । टेस्लाको मोडेल–३ एकपटक चार्ज गरेपछि ५६७ किलोमिटर सम्म चल्दछ ।

चीन सरकारको स्वामित्वमा रहेको बिएआईसी ग्रुपको शाओमी कार फ्याक्ट्री बेइजिङमा छ । यो कम्पनीले वर्षभरमा न्युनतम् दुई लाख कार उत्पादन गर्ने लक्ष्य राखेको छ ।