• जेष्ठ ५ २०८१, शनिबार

काठमाडौँमा आज घोडेजात्रा मनाइँदै,घोडाको टापको यस्तो छ महत्व

चैत्र २६ २०८०, सोमबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ ।

घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्नेछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।