• जेष्ठ ५ २०८३, मंगलवार

एमाले नेता महेश बस्नेतविरुद्ध एक युवतीले गरिन् फौजदारी कसुरमा मुद्दा दर्ता

चैत्र २५ २०८०, आईतवार

चैत २५, काठमाडौँ । एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो ।

एमालेमा सङ्गठित ३१ वर्षीय युवतीले उनलाई भ्रुण हत्या, बलात्कार र डाँकाचोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पीडितले हुलाकमार्फत् पठाएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए । उनले भने–‘जाहेरी दर्ता गरेका छौँ ।’

बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छिन् । पीडितले प्रहरीमा दिएको जाहेरीमा काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार गरेको उल्लेख छ ।

बस्नेतमाथि २ महिना १५ दिनको भ्रुण हत्या गरेको पनि आरोप छ । औषधी खुवाएर र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गरेको पीडितले आरोप लगाएकी छिन् । मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रुण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरिएको छ ।

बलात्कार र भ्रुण हत्याको प्रमाण लुकाउन बस्नेको निर्देशनमा आफ्नो अपार्टमेन्टमा २०८० फागुन ८ मा बिहान डाँकाचोरी गरिएको पनि पीडितको दाबी छ । उनले जाहेरीमा लेखेकी छन्–‘बस्नेको निर्देशनमा दुई जना युवाहरूले मेरो अपार्टमेन्टमा आएर मलाई कुटपिट समेत गरेर मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस जबरजस्ती लिएर गएका हुन् ।’

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदमा उद्योगमन्त्री थिए । पीडितले जाहेरीमा दाबी गरेअनुसार प्रहरीले प्रमाण सङ्कलन गरिरहेको छ । जाहेरी दर्ता भएसँगै राष्ट्रिय युवा संघको संयोजक समेत रहेका बस्नेतलाई प्रहरीले सोधपुछ गरेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘उहाँसँग हामीले त्यसबारे सोधपुछ गरेका छौँ ।’

प्रहरीले पीडितको दाबी भेरिफाई गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘मुद्दा अगाडी बढाउने आधार खोज्दै छौँ ।’ पीडित युवतीले चैत ७ मा प्रहरीमा जाहेरी दिएकी हुन् ।