• जेष्ठ ५ २०८३, मंगलवार

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रचण्ड

चैत्र २४ २०८०, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि बताए। सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताए।

उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्ने बताए।

उनले भने, ‘औपचारिक सम्बन्धको ५० वर्षको सन्दर्भमा यो आरोहणले एकातिर नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ, हाम्रो यसैपनि राम्रो सम्बन्ध छ, कोरिया र नेपालको। आउने दिनमा अझ बलियो र सुदृढ हुन्छ भन्ने विश्वास छ।