काठमाडौँ । आज सर्वदलीय बैठक बस्दैछ । सुनसरीको भुटाहामा दुई पक्षबीचको झडपपछि विभिन्न स्थानमा लगाइएको कर्फ्यू हटाउनेबारे निर्णय लिन बैठक बस्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाउनेबारे निर्णय लिन आज बिहान साढे १० बजे बस्ने गरी सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएको सहायक प्रमुख जिल्ला अधिकारी वेद राज फुयाँलले जानकारी दिए ।
शुक्रबार दिउँसो इनरुवा नगरपालिका, हरिनगर, देवानगञ्ज, भोक्राहा नरसिंह र कोशी गाउँपालिका क्षेत्रमा कर्फ्यू लगाएको स्थानीय प्रशासनले अपराह्न ५ बजेदेखि ती स्थानीय तहमा कर्फ्यू अनिश्चितकालीन लगाएको हो ।
शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन् ।