सुनसरी । सुनसरीको सदरमुकाम इनरुवा–९ बबियामा बुधबार दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ । मोटरसाइकलमा आएका अज्ञात समूहले पाँच लाख ३५ हजार लुटेका हुन् ।
हरिनगर गाउँपालिका–२ का सदाम अन्सारीले इनरुवाबाट जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला तीन जनाको अज्ञात समूहले बबियामा सवारी रोकी हतियार देखाएर लुटपाट गरेको पीडितका बुबा सलामुद्दिन अन्सारीले बताए ।
हजुरआमा सैहरा खातुनको नाममा रहेको जग्गा गढी गाउँपालिका सतेरझोराका विनोदलाई बिक्री गरेर लिएको पाँच लाख ३५ हजार घर जाने क्रममा बाटैमा अज्ञात समूहले हतियार देखाएर लुटेको पीडित सदाम अन्सारीले बताए ।
पैसा लुटेर अज्ञात समूह मोटरसाइकलमा चढेर इनरुवातर्फ भागेका थिए । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बबियामा लुटपाट भएको पुष्टि गरे । लुटपाटको घटनामा संलग्नको खोजी भइरहेको सुनसरीका भण्डारीले बताए ।