काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको कन्काई नगरपालिका-८ बिरिङ पुलमा प्रदेश १–०१–०१२ प ५७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका ३ बस्ने २७ वर्षीय पूर्णिमा भण्डारीको छोरा ८ वर्षीय प्रसान्त भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विर्तासिटी अस्पताल विर्तामोडमा र मोटरसाइकलमा सवार २ जनाको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
यस्तै खोटाङको बराहापोखरी गाउँपालिका-१ भिरगाउँस्थित सडकमा मे१त ८५९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा चालक झापा बुद्धशान्ति नगरपालिका-४ बस्ने २८ वर्षीय अमृत लिम्बुको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारका लागि उदयपुर गाइघाटतर्फ पठाइएको छ ।
यस्तै मकवानपुरको हेटौँडा उपमहानगर पालिका-११ नवलपुरस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय ज्ञाने सुनारको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ । यस्तै महोत्तरीको मनराशिश्वा नगरपालिका-७ झिङ्गास्थानस्थित सडकमा ज५प ९१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका-११ बस्ने ३६ वर्षीय जितनारायण यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।