कास्की । पोखरामा अनौठो तरिकाले बस दुर्घटना भएको छ । उक्त दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ ।
दुर्घटनाग्रस्त बस बीच सडकमा ठिंग उभिएको छ । बसको अघिल्लो भाग भुइँमा र पछाडिको भाग आकाशतिर फर्किएर बस टक्कले अडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सूर्यबहादुर रानाका अनुसार उक्त दुर्घटना पोखरा महानगरपालिका–२७ आरूपाटामा भएको हो ।
दुर्घटनाबाट गाडीका चालक पोखरा महानगरपालिका–२७ का टिकाराम विक र सहचालक पोखरा महानगरपालिका–१४ चाउथेका शालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको डिएसपी रानाले जानकारी दिए । उनीहरूले ब्रेक फेल भएर दुर्घटना भएको भनेका पनि डिएसपी रानाले बताए ।
‘पोखरा आउन लागेका रहेछन् । ब्रेक फेल भएर दुर्घटना भएको भनेका छन् । उपचार भइरहेकाले थप सोधपुछ गर्न मिलेको छैन । उपचार भएपछि सोधपुछ गरेपछि के भएको भन्ने थाहा हुन्छ,’ उनले भने ।
उनका अनुसार अहिले पनि बस बीच सडकमै ठिङ्ग उभिएको छ । बीच सडकमा बस उभिँदा अन्य सवारी साधन चल्न सकेका छैनन् ।
‘प्रहरीहरू घटनास्थलमा जाँदै छन् । बसलाई कसरी हटाउन सकिन्छ भनेर हेर्छौं,’ डिएसपी रानाले भने ।