• बैशाख २० २०८३, आईतवार

इलाम- २ उपनिर्वाचनमा सुवासको छोरा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

चैत्र ११ २०८०, आईतवार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। चासोपूर्वक हेरिएको इलाम-२ का लागि एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

सुहाङ एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन्। सुवासको निधन भए पश्चात् नै सुहाङलाई त्यस क्षेत्रको सम्भावित उम्मेदवारको रुपमा हेरिएको थियो। स्वयं सुहाङले पनि त्यसका निम्ति सक्रियता देखाइरहेका थिए।

२०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा इलाम- २ मा सुवास नेम्वाङ विजयी भएका थिए। उनको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

त्यस्तै रिक्त प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुने बझाङमा एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

‘एमालेको सिंगो पार्टी पंक्तिलाई एमालेको उम्मेदवारको विजयमा केन्द्रित गराउने र अन्य पार्टीलाई पनि हाम्रो उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय गरिएको छ’, ज्ञवालीले भने।