• जेष्ठ ५ २०८३, मंगलवार

दुर्घटनामा परेका कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी हाजिरी जमानीमा छुटे

चैत्र ११ २०८०, आईतवार

काठमाडौं । कमेडी च्याम्पियनका निर्देशकसहित दुई जना हाजिर जमानीमा छुटेका छन् । शनिबार साँझदेखि उनीहरू भक्तपुरस्थित प्रहरी वृत्त जगातीको हिरासतमा थिए ।

उनीहरू चढेको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर सामान्य घाइते भएका निर्देशक विशाल भण्डारी र पुजन अधिकारी शनिबार हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । उनका अनुसार घाइतेका परिवारसँग सहमति गरी दुवै जनालाई छाडिएको हो ।

गत शुक्रबार बिहान साढे ३ बजे भक्तपुरस्थित सूर्यविनायक नगरपालिका वडानम्बर १० मा कार दुर्घटना भएको थियो । बागमती प्रदेश ०१–०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई टिपरमा ठोक्किँदा ६ जना घाइते भएका थिए ।

जसमध्ये एकजना प्रतियोगी सुशान्त बस्याल गम्भीर भएका थिए । उनको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । उनको अहिले स्वास्थ्यको सुधार भइरहेको अस्पताललाई उद्धृत गर्दै डिएसपी पाठकले बताए । कारमा सवार रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई पनि घाइते भएका थिए ।

मापसे गरी सवारी चलाउँदा दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको डिएसपी पाठकले बताए । कार भण्डारीले चलाएका थिए । त्यतिबेला प्रहरीले टिपरका चालकलाई पनि नियन्त्रणमा लिएको थियो । तर उनको गल्ती नभएकाले उनलाई छाडिसकेको उनले बताए ।