काठमाडौँ । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।
‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमिसुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविलाल नेपालीले भूमि व्यवस्था मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।
उनले मालपोत ऐन २०३४ को दफा २४ अनुसार जग्गा नेपाल सरकारको भएको ठहर गर्दै सरकारको नाममा ल्याइएको बताए । कम्पनीका तत्कालीन अध्यक्षको निर्णयले २०४४ भदौ ६ मा ६ रोपनी र मंसिर १८ मा थप ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । सरकारको जग्गाको हक हस्तान्तरण गर्दा सरकारको स्वीकृति चाहिन्छ । १० रोपनी जग्गा फुटवेयरको नाममा लैजाँदा मन्त्रिपरिषदले निर्णय गरेको थिएन ।
सो जग्गा प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी पक्राउ परी अदालतको आदेशमा छुटिसकेका छन् । सो जग्गा प्रकरणमा उद्योगी विनोद चौधरीसँग पनि बयान लिइसकिएको छ ।
पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउने अभियान थालनी भैसकेको बताए ।