काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंका बडिगार्डको रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका दुईजनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ ।
सोमबार सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडिगार्डलाई मुद्दा चलाउन मंगलबार जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिएपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो ।
उनीहरुलाई मुद्दा चलाउन लागेको र थुनामा राख्नु गैर कानुनी भएको भन्दै परिवारका तर्फवाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालिएको थियो ।
पक्राउ परेका रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट हालेकी थिइन् । उक्त रिटमाथि सुनुवाइका क्रममा न्यायाधीश सारंगा सुवेदीले ३ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा आदेश दिएकी हुन् ।
उता पक्राउ परेका अर्का बडिगार्ड दीपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि न्यायाधीश महेश शर्मा पौडेलले ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका हुन् ।