काठमाडौ । महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरूद्ध सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित २४ जनाविरूद्ध ११ लाख ९६ हजार ६९५ रुपैंयाँ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तै अख्तियारले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुरविरूद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी विरूद्ध पनि ११ लाख ९६ हजार ६९५ रुपैयाँ विगो माग दावी गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।
यस्तै रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिब धनकुमारी मगर भनिने धनकुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापामगर र पूणर्बहादुर सुस्लिङ्ग, महोत्तरी, बर्दिबास नगरपालिका-१ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतम, रम्तेलडाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापामगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका-४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपालीविरूद्ध पनि अख्तियारले ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो माग दावी गरेको छ ।
यसैगरी सव-डिभिजन वन कार्यालय बर्दिवास, महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेष्टर सन्तोषकुमार साह, वनरक्षकहरु राजकिशोर झा, अजय कुमार यादव, राकेशकुमार यादव, नारायण ढुंगेल र दिलिप महतोविरूद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
नापी कार्यालय, बर्दिवास महोत्तरीका तत्कालीन अमिन रामदरश राउत, मालपोत कार्यालय बर्दिबास, महोत्तरीका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठ, बर्दिबास नगरपालिका वडा नं. १ का तत्कालीन वडाध्यक्ष चुडामणी पोखरेल र रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउतविरूद्धसमेत अख्तियारले मुद्दा दायर गरेको छ ।