• जेष्ठ ५ २०८१, शनिबार

जापानद्वारा नेपाललाई १२ वटा बारुणयन्त्र प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर

फाल्गुन २८ २०८०, सोमबार

काठमाडौं । जापान सरकारले नेपाललाई १२ वटा बारुणयन्त्र दिने भएको छ । नेपालका लागि जापानका राजदूत किकुता युताका र युनाइटेड मिसन टुका कार्यकारी निर्देशक धन लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आज काठमाडौंस्थित जापानी राजदूतावासमा एक समारोहकाबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता अनुसार जापान सरकारले ओखलढुंगा जिल्लाको खिजिडेम्बा गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, सुनवल नगरपालिका, परासी जिल्लाको प्रतापपुर गाउँपालिका र कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाका लागि  सो अनुदानमा दिनेछ ।

यसैगरी सर्लाहीको चक्रघट्टा गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, ललितपुरको गोदावरी नगरपालिकामा बारुणयन्त्र उपलब्ध गराइनेछ । नेपालमा केही नगरपालिकासँग मात्रै बारुणयन्त्र छन् । यो अवस्थालाई मध्यनजर गर्दै जापान सरकारले १२ वटा बारुणयन्त्र दिने भएको हो ।

युनाइटेड मिसन टु ७० वर्षदेखि समाजको सेवा गर्ने सबैभन्दा पुरानो एनजीओ मध्येको एक हो । यी बारुणयन्त्रले सुरक्षामा सक्रिय भूमिका खेल्ने जापान सरकारले विश्वास लिएको छ । जापानी दूतावासले पनि यो परियोजनाले सुरक्षामा योगदान पुर्याउने विश्वास लिएको छ ।

साथै दूतावासले नेपाल र जापानबीच मित्रतालाई सुदृढ बनाउने विश्वस लिएको छ ।