• बैशाख २३ २०८१, आईतवार

एक्समा अडियो भिडियो कलिङ

फाल्गुन २२ २०८०, मंगलवार

एलन मस्कले सोसल मिडिया प्लाटफर्म एक्समा अडियो भिडियो कलिङको सेवा सञ्चालनमा ल्याएपछि सेवाग्राहीले खुसी मनाएका छन् । साबिक ट्वीटरलाई आफ्नो स्वामित्वमा लिएपछि एक्सको लोकप्रियता र निरन्तरताका लागि मस्कले अनेकन प्रयोग गर्दै आएका छन् । यी प्रयोग एकपछि अर्को हुँदै र सफलतातिर उकालो चढ्दै पनि गएका छन् ।

एक्समा गरिएको अडियो भिडियो कलिङ चिरप्रतिक्षित पनि हो । यसलाई सेवाग्राही सबैले निकै लोकप्रिय तथा बहुप्रतिक्षित घोषणा भनी स्वीकार पनि गरेका छन् । यो घोषणासँगै एक्सका सबै खाले प्रयोगकर्ताले अडियो तथा भिडियो कलिङ फिचरको प्रयोग गर्न पाउने भएका छन् ।

यस्तो सुविधा पोहर सालदेखि सुरू गरिए पनि त्यो प्रयोग र परीक्षणमा थियो । साथै, यो केवल ब्लु टिक सशुल्क प्रयोगकर्ताका सेवाग्राहीका लागि मात्र थियो । तर अहिले यो आम हुन पुगेको छ । यसलाई आमएक्स प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइएको छ ।

यसको क्षेत्र बिस्तार भइरहेकाले सबै टाउँका सेवाग्राहीले यस्तो सेवा पाउने क्रम जारी छ । एक्स प्लाटफर्म इन्जिनियर इनरिक ब्यारागनले गरेको घोषणाबाट पनि यो कुरा आफैमा प्रष्ट हुन्छ । घोषणाका क्रममा उनले प्रयोग गरेको शब्द ‘हामी गैरप्रिमियम प्रयोगकर्ताका लागि यसको सुरुआत गर्न गइरहेका छौँ’ भन्नेले पनि यही कुरा प्रष्ट्याउँछ ।

अहिले यो सेवाको सहयोगमा प्रयोगकर्ताले जो कसैलाई पनि कल गर्न र कुराकानी गर्नसक्ने छन् । इन्जिनियर व्यारागनको शब्दमा ‘यदि तपाईकोमा यो फिचर अहिलेसम्म पुगेको छैन भने एक्स एप अपडेट गर्न’ अनुरोध गरिएको छ । अपडेट गर्दा पनि सेवा नआएमा ‘केही समय पर्खन’ अनुरोध गरिएको छ । यसले यो सेवा र सुविधा बिस्तारको क्रममा रहेको देखाउँछ ।

गतवर्ष नै एक्समा अडियो तथा भिडियो कलिङ फिचर सुरु भइसकेको थियो । पहिलो चरणमा आइओएस् प्रयोगकर्ताका लागि मात्र यो फिचर उपलब्ध गराइएको थियो नै । तर यस वर्षको सुरूआतसँगै एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि यो सेवा खुला गरिएको थियो । तथापि सेवाग्राहीको गुनासा भने जारी छन् । सेवा एक्सका प्रिमिय सब्सक्राइबरमा मात्रै सिमित रहेको देखिन्छ ।