यही असोज महिनाको पहिलो सातामा बसेको एमालेको केन्द्रीय समितिको वैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा चयन गरेको छ । दुईदुई पटक राष्ट्रपति भएकी भण्डारीको ११ वर्षपछि एमाले पार्टीमा प्रत्यागमन हुन गएको छ । त्यसो त भण्डारी राष्ट्रपति रहँदाका बखत तात्कालिन माओवादी केन्द्रका तर्फबाट दुई कार्यकाल नै उपराष्ट्रपति बनेका नन्दबहादुर पुन (पासाङ) पनि राष्ट्रपति भण्डारीभन्दा पहिल्यै माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) को उपाध्यक्ष बनेर पार्टीमा फर्किइसकेका छन् ।
देशका प्रमुख महामहिमहरूको पार्टी राजनीति प्रतिको मोहले अहिले निकै गम्भीर प्रश्नहरू उब्जाएका छन् । राष्ट्रिय एकता, संरक्षक र अभिभावक बनिसकेका धरोहर राजनीतिक पार्टीका सङ्कीर्ण दायराभित्र रमाउन थालेपछि देशको एकता र सार्वभौमिकताको प्रतिनिधित्व कसले गर्ने भन्ने चासो सर्वत्र पैदा भएको छ । देशभन्दा पनि पार्टीलाई ठूलो ठान्ने महामहिमहरूको सङ्कीर्ण सोच तथा अल्पबोधले उनीहरूलाई नाङ्गै सतहमा उभ्याइदिएको छ ।
समय बित्दै जाँदा देश झन् अप्ठ्यारो अवस्थामा फस्दै र वैदेशिक शक्ति केन्द्रको महाचङ्गुलमा बेह्रिदै गइरहेको छ । यस्तो बेलामा गुवाइ गर्नु पर्ने ‘वर्तमान’ होस् वा ‘पूर्व’ राष्ट्रप्रमुखका हैसियतले बोल्ने अभिभावक देशले गुमाउँदै गएको छ । ज्ञानतावश होस् वा पुनः सत्ता प्राप्तिको आशक्तिले होस् राष्ट्र प्रमुखको पार्टी प्रवेशले गणतन्त्रलाई अभिभावकविहीन बनाउँदै लगिरहेको छ ।
एकातिर पार्टीका नेताहरू नमर्दासम्म पार्टी तथा सरकारका प्रमुख बनिरहने र अर्कोतिर देशका अभिभावकहरूको त्यस्ता पार्टीभित्र प्रत्यागमन भइरहने प्रवृत्तिले जनतामा अभिभावकविहीनता र निराशाको आभाष गराइरहेको छ । राष्ट्र र जनताको अभिभावक बनेर अगाडि सर्ने राष्ट्रिय प्रतिक वा विभूतिको गणतान्त्रिक व्यवस्थामा भूतपूर्व अभाव हुन्छ कि भन्ने डर र आशङ्का हिमालका श्रृङ्खलाजस्तै लहरै उभिन थालिसकेका छन् ।
जबसम्म ओहदाको ओजपूर्ण गरिमाको गहिरो बोध गरिदैन, तबसम्म कुनै पनि कुराको संस्थागत विकास हुन सक्दैन । त्यसैले सदैव ओहदाको गरिमा कायम राख !