काठमाडौं । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु हुने गरी भएको घटनामा आइतबार पीडित पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र, बरहथवाको स्तरोन्नतिको विषयमा भएको विवादमा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु भएको तीन दिनपछि प्रशासनसँग सहमति भएपछि पीडित पक्ष उनको शव उठाउन तयार भएको हो । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सबै पक्षले घटनाका सम्बन्धमा स्वतन्त्र र निष्पक्ष रूपमा छानबिनमा सहयोग गर्ने सहमति भएको छ ।
त्यस्तै पीडितको आश्रित परिवारको एक जनालाई रोजगारी दिन बरहथवा नगरपालिका सहमत भएको छ । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिपछि प्रक्रिया पूरा गरी नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ भने अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक साहको शालिक स्थापना गरिने भएको छ ।
सहमतिसँगै उद्योग वाणिज्य संघ लगायतले गर्दै आएको विरोधका कार्यक्रम स्थगति गर्ने, प्रक्रिया पुर्याएर मृतकको नामबाट प्रादेशिक अस्पतालको नामकरण गर्ने तथा दोषी प्रहरीलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
त्यस्तै मृतकलाई शहीद घोषणा गर्न सम्बन्धित पक्षलाई सिफारिस गर्ने, आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस गर्ने सहमति भएको छ । यससँगै मृतकको शव तत्काल व्यवस्थापन गरी पोस्टमार्टम् गरी आफन्तलाई बुझाउने सहमति भएको छ ।
