• जेष्ठ ७ २०८३, बिहीबार

अस्पतालमा विवाद हुँदा प्रहरीद्धारा गोली प्रहार, एककाे मृत्यु

पुष २० २०८०, शुक्रबार

काठमाडौं । सर्लाहीमा नगर अस्पतालका विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

शुक्रबार दिउँसो करिब २ बजेदेखि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो । ‘झडप हुँदा एक जनाको मृत्यु भएको छ, शव स्थानीयकै नियन्त्रणमा छ,’ प्रजिअ धमलाले भने, ‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीयले शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेपछि प्रहरीले रोकेको थियो । स्थानीयलाई प्रहरीले रोकेपछि झडप भएको हो । प्रहरी र स्थानीयबीच झडप भएको बरहथवा नगरपालिकाका उपमेयर रामबाबुप्रसाद साहले बताए । निर्माण सम्पन्न हुन लागेको अस्पताल भवन मधेस प्रदेश सरकारले चलाउने कि नगरपालिकाले भन्ने विषयमा विवाद भएको हो ।

यो विषयमा विवाद भएपछि शुक्रबारका लागि नगरपालिकाले सर्वदलीय बैठक पनि राखेको थियो। तर तनावको स्थिति देखिएपछि सर्वदलीय बैठक स्थगित गरिएको नगरपालिकाले सूचना निकालेर जानकारी गराएको थियो । नगर अस्पताल नगरपालिकाले नै चलाउनुपर्ने माग स्थानीयको छ । स्थानीयले शुक्रबार बजार बन्दसमेत गराएका थिए ।