• जेष्ठ ७ २०८३, बिहीबार

भन्सार कानूनमा ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्ने आजपाका ७ नेता पक्राउ

पुष १८ २०८०, बुधबार

काठमाडौँ । भन्सार विभाग घेराउ गर्न गएका प्रभु साह नेतृत्वको आम जनता पार्टीका ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै प्रहरीको धरपकडमा १ जना घाइते भएका हुन् । भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ ।

सोही क्रममा बुधबार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीको धरपकड गर्दा तिलक थापामगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका बताए । पक्राउ परेकोमध्ये रञ्जु घाइते छिन् ।

उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको व्यवस्था खारेजीको माग गर्दै आजपाले झण्डै तीन सातायता दोस्रो चरणको आन्दोलन गर्दै आएको छ ।

आम सम्पर्क मञ्चको अगुवाइमा भन्सार विभाग घेराउ गर्दै आएको आजपाले सरकारले मागको सुनुवाइ नगरेकोप्रति आक्रोश पोख्दै आएको छ । आम नेपाली जनताको जीवनसँग जोडिएको सवालको तत्काल सुनुवाइ नभए थप कडा आन्दोलन गर्ने आजपाले बताएको छ ।