• जेष्ठ ७ २०८३, बिहीबार

नोबेल अस्पतालको २० लाख रकम हिनामिना गरेको आरोपमा तीन कर्मचारी पक्राउ

पुष १७ २०८०, मंगलवार

काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन् । अस्पतालको काउन्टरमा कार्यरत तीन जना कर्मचारीको मिलेमतोमा २० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको उजुरीपछि प्रहरीले त्यहाँ कार्यरत कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट रकम हिनामिना गर्ने कार्यमा उनीहरुको संलग्नता खुलेको प्रहरीले जनाएको छ । एक हप्ता अगाडि अस्पतालबाट लाखौं रुपैयाँ अपचलन भएको खुलेपछि अस्पताल प्रशासनले मोरङ प्रहरीमा उजुरी दिएको थियो । अस्पतालको उजुरीको आधारमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अस्पतालको काउन्टरमा क्यासियरका रुपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वा र सुनसरीको दुहवी–१२ का २९ वर्षीय राजेशकुमार फौदार रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनीहरुको विषयमा आपराधिक विश्वासघात अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको मोरङ प्रहरीका डिएसपी दाहालले बताए । उनीहरुले अस्पतालको नगद काउन्टरमा सेवाग्राहीबाट प्राप्त रकम हिनामिना गरेको आरोप छ । उनीहरु तीनै जना अस्पतालको क्यास काउन्टरमा कार्यरत कर्मचारी हुन् ।

‘उनीहरुले क्यास काउन्टरमा संकलन भएको केही रकम अस्पताललाई बुझाउने र केही रकम आफै राखेर हिनामिना गरेको पाइएको छ,’ उनले भने ।
प्रहरीले बराल र फौदारलाई गत पुस १० गते पक्राउ गरी मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।