• जेष्ठ ७ २०८३, बिहीबार

बालकुमारी घटनाको जाँचबुझ गर्न उच्चस्तरीय आयोग बनाउन प्रधानमन्त्रीको निर्देशन

पुष १५ २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।

गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो । यो घटना छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृहलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न लागिएको हो । यससम्बन्धी सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्ने र सोमबारदेखि नै काम सुरू गर्ने पनि उनले बताए । बालकुमारीमा भएको घटनासम्बन्धी छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु रिग्देल सदस्य छन् । बालकुमारीमा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । रावतको छातीमा डाम देखिएको थियो भने शाहको गोली लागेर मृत्यु भएको थियो ।

मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने पनि निर्णय गरेको छ । प्रदर्शनको क्रममा गोली चलाउन निर्देशन दिएको भन्दै गृह मन्त्रालयले फिल्ड कमान्डर रहेका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ । प्रदर्शनकारीले त्यसदिन भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा पनि आगजनी गरेको थियो । उनका पिएसओ प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र इपिएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय नक्साल र ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितलाई गृहमा तानिएको थियो ।