काठमाडौं । मास्टर मित्रसेन थापाको १२९औं जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र मास्टर मित्रसेन स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा प्रष्ठिानका कुलपति भुपाल राईको आतिथ्य र मित्रसेन प्रतिष्ठानका अध्यक्ष गौबहादुर आलेको सभापतित्वमा एकदिवसीय साहित्य गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको प्रज्ञा प्रतिष्ठानका कुलपति राईले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरे ।
गोष्ठीमा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत मन्तव्य राखे । सो अवसरमा साहित्यकार विजय हितानले ‘नेपाली भाषा साहित्य र संगीतको विकासमा मास्टर मित्रसेन थापाको योगदान’ विषयमा प्रस्तुत गरे । कार्यक्रममा संरक्षक एवम् सल्लाहकार त्रिलोक सिंह थापामगरले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारे ।
मास्टर मित्रसेनको जीवनीलाई जीवन्त राख्न अहोरात्र खट्ने संस्थाका संरक्षक एवम् सल्लाहकार त्रिलोकसिंह थापामगर र पर्या साहित्यकार एवम् ‘लाहुरेको रेलीमाई’ युद्ध उपन्यासका लेखक विजय हितानमगरलाई प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले खादा र फूलको माला लगाई सम्मान पत्र प्रदान गरि सम्मान गरे ।
आफ्नो मन्तव्यमा कुलपति राईले बहुमुखी प्रतिभाका धनी मित्रसेनका कृतिलाई प्रकाशन गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम सञ्चालन मास्टर मित्रसेन प्रतिष्ठानका महासचिव मित्र रानाले गरेका थिए भने सम्मानित ब्यक्तित्वको परिचय उपाध्यक्ष गायत्री रानामगरले गराइन् ।
सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन सभापति एवम् अध्यक्ष गौबहादुर आलेले गरेका थिए । प्राज्ञ परिषदका सदस्यहरू, कार्यक्रममा वरिष्ठ साहित्यकारहरू, नेपाल मगर संघका अध्यक्ष एवम् प्रतिनिधिहरू, वरिष्ठ गायक गायिका गितकार तथा संगीतकारहरू, लेखक तथा पत्रकारहरू, भाषाविद, चलचित्रकर्मीहरूको उल्लेख्य सहभागीता थियो ।