• जेष्ठ ७ २०८३, बिहीबार

बालकुमारी घटना : गोली हान्न आदेश दिने प्रहरी हाकिम र मन्त्रीका पीएसओ निलम्बन

पुष १४ २०८०, शनिबार

काठमाडौँ । बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोगको आदेश दिने प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । बालकुमारी घटनामा दुई जना युवाको मृत्यु भएपछि मन्त्री ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो ।

प्रदर्शनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । बालकुमारी घटनामा पीएसओ र प्रहरी अधिकारीको कमजोरी देखिएकाले निलम्बन गरिएको प्रधानमन्त्री पुष्पकमल दाहालले जानकारी दिए । प्रदर्शनका क्रममा मन्त्री ज्वालाको गाडीमा आगजनीसमेत भएको थियो ।

छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको बताए । यस्तै प्रधानमन्त्रीले सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताएका छन् । शनिबार बिहान प्रधानमन्त्रीले गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरुसँग बालकुमारी घटनाबारे ब्रिफिङ लिएका थिए ।

प्रधानमन्त्रीले भने,‘आज बिहान मात्रै गृह मन्त्रालय र सम्बन्धित सुरक्षा अधिकारीहरु, प्रमुख जिल्ला अधिकार सबैको चाहिँ संयुक्त बैठक बसेर हामीले यथार्थ पत्ता लगाउने कोसिस गर्यौं र, तुरुन्तै राजनीतिक तहमा पनि छलफल गरेर केही कदमहरु चाली सकिएको छ । हामीले यो आईपीएस अफिसबाट केही कमजोरी भएको महसुस गरेर उहाँलाई त्यहाँबाट हटाइएको छ । अर्को हाम्रो मन्त्रीजीको पिएसओले परिस्थितिको राम्रो आँकलन नगरीकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटि भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । अनि, त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटिपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको बैठक शनिबार बस्ने जानकारी दिए । मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई तुरुन्तै राहत दिने निर्णय गर्ने जानकारी दिए ।