काठमाडाैं । सरकारले ‘बालकुमारी घटना’ का मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्मिलित बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
यसैगरी, मृतकहरूको शव सरकारले नै सम्बन्धित व्यक्तिको परिवारसम्म पुर्याइदिने भएको छ । घटनामा २३ वर्षे सुजन रावत र २२ वर्षे वीरेन्द्र शाहले ज्यान गुमाएका थिए । प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षा अधिकारीसमेत सहभागी बैठकले हिजो घटनास्थलमा खटेका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाकाका पीएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई सोधपुछका लागि गृहमन्त्रालय तानिएको छ भने ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई हेडक्वार्टर तानिएको छ ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुईजनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरूलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई गोली हानेको थियो ।