ललितपुर । प्रहरीले राजधानीको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको जनाएको छ ।
ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाहको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नवराज कार्कीले जारी गरेको विज्ञप्तिमा दुवै जनाको उपचारका क्रममा मृत्यु भएको उल्लेख गरिएको छ । शाहको पाटन अस्पताल र राउतको किष्ट अस्पतालमा मृत्यु भएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले आक्रोसित भीडलाई नियन्त्रण गरी थप क्षति हुनबाट रोक्न सिलसिलेवार बल प्रयोग गर्दा जिल्ला अछाम, चौरपाटी गाउँपालिका वडानम्बर १ बस्ने वर्ष २१ को वीरेन्द्र शाहलाई गोली लागि घाइते भई औषधि उपचारको लागि पाटन अस्पताल लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको । सोही स्थानमा भाग दौडको क्रममा जिल्ला दैलेख, महावु गाउँपालिका वडा नं ६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउत घाइते भई तत्काल उपचारको लागि इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको भनि चिकित्सकले मृत्यु घोषित गरेको ।’
ईपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयलाई लिएर२५०० देखि ३००० जना भेला जम्मा भई आन्दोलन गरेको प्रहरीको भनाइ छ ।
परीक्षार्थीहरुले अन्दाजी १२ः१५ बजेको समयमा आक्रोशित भई सुरक्षार्थ डिउटीमा खटिएका प्रहरी माथि एक्कासि ढुङ्गामुढा प्रहार गर्दा डिउटीमा खटिएका नेपाल प्रहरी तर्फका प्रहरी नायव उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवलदार सुशील सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीको भनाइ छ ।
त्यसपछि आक्रोशित भिड तितरवितर गर्न अश्रुग्याँस प्रहार गर्दा भिड तितरवितर भई बालकुमारीतर्फ जाँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाको गाडी तोडफोड भएको प्रहरीको भनाइ छ । सो क्रममा प्रहरीले टियर ग्यास र रबर बुलेट प्रहार गरेपनि अवस्था नियन्त्रणमा नआएपछि गोली नै चलाएको बताइएको छ ।
प्रहरीले आगजनी तथा तोड्फोड घटनामा आशङ्कित ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए ।