काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा बहस सकिएको छ । गत पुस ८ गते आइतबारबाट हेदार्चहेर्दैमा राखेर सुनुवाइ गरिएको उक्त मुद्दामा शुक्रबार बहस सकिएको हो । उक्त मुद्दाको फैसला आजै आउने जनाइएको छ ।
यो मुद्दामा गत आइतबारबाट सुनुवाइ सुरु भएको थियो । आइतबार वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलहरू जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल र सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए ।
त्यसपछि हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा बुधबार जाहेरवालीका तर्फबाट ल्याक नेपाल लगायतका संघ संस्थाका कानुन व्यवसायी र स्वतन्त्र अधिवक्ताहरूले बहस गरेका थिए ।
बुधबार जाहेरवालीका तर्फबाट अधिवक्ताहरू आस्मा आचार्य, नारायण चौलागाई, शशी अधिकारी, शान्ति काफ्ले, मोहना अन्सारी, अञ्जना अर्याल, प्रतिमा खरेल र ल्याक नेपालकी अध्यक्ष अनिता थपलियासमेत गरी आइतबारदेखि बुधबारसम्म गरी कुल १० जनाले बहस सकाएका थिए । बुधबार नै प्रतिवादीका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले समेत बहस सुरु गरेका थिए ।