• जेष्ठ ७ २०८३, बिहीबार

इपिएस लफडा : मन्त्री ज्वालालाई निकालेर उनको गाडीमा आगो लगाइयो

पुष १३ २०८०, शुक्रबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन् । रोजगार अनुमति प्रणालीको परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएका हुन् ।

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ । हतारमा पनि थिएँ । बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाई थाहा थिएन । उनीहरू आन्दोलन गरिरहेका थिए । प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ । हाम्रो गाडीलाई बीचमा पारिहाले । निशानामा हामी पर्यौं । उनीहरूले पहिले हावा खुस्काए । धकेलाधकेल गर्न थाले । मैले केही मेसै पाइनँ,’ उनले भने । आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात जलाएको उनले बताए ।

‘हामी त कसोकसो उम्कियौं । ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन । सबै त्यहीँ पर्यो । हामी भीडबाट सकुशल उम्कियौं । गाडीचाहिँ पूरै आगो लगाएका छन् । त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ उनले भने ।