• जेष्ठ ७ २०८३, बिहीबार

शिक्षक कर्मचारीको प्रदर्शनमा युवक मारिएको घटनालाई लिएर चक्काजाम

मंसिर ३० २०८०, शनिबार

सिमरा । बाराको सिम्रौनगढ नगरपालिकामा एक युवकको मृत्यु भएको विषयलाई लिएर पूर्वपश्चिम राजमार्गको निजगढ खण्ड बन्द गरिएको छ । शिक्षक कर्मचारीहरूले आफ्नो तलब माग गर्दै हड्तालका क्रममा बुधवार प्रहरीको गोली लागि सिम्रौनगढ नगरपालिका–१ का २५ वर्षका लक्ष्मी मुखियाको मृत्यु भएको थियो ।

नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा शनिबार चक्काजाम गरिएको हो । शिक्षक कर्मचारीहरूले तलब माग गर्दै शान्तिपूर्ण हड्तालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बिते पनि माग सम्बोधन नभएपछि पूर्व–पश्चिम राजमार्गको निजगढमा टायर बालेर चक्काजाम गरिएको पार्टीले जनाएको छ । शनिबार बिहानदेखि सुरु भएको राजमार्ग अवरुद्ध कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरीप्रसाद कलवारको पुत्ला दहन गर्दै उनीहरुको राजीनामाको माग गरेका छन् ।

सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरूले विगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले १४ महिनादेखि तलब सुविधा पाएका छैनन् । लामो समयदेखि सुरु भएको आन्दोलनले गर्दा नगर अस्पताल बन्द छ भने सामुदायिक विद्यालयको पठनपाठन समेत ठप्प भएको छ ।