• जेष्ठ ७ २०८३, बिहीबार

भुटानी शरणार्थी काण्डमा मुछिएका कांग्रेस नेता खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

मंसिर २८ २०८०, बिहीबार

काठमाडौँ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणसँग ३० लाख धरौटी लिई छाड्ने आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कांग्रेस नेता खाणलाई गत असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेश बेरितको भएको भन्दै खाण लगायतका २० जना प्रतिवादीहरु थुनामुक्त भई मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

मंसिर ५ गतेदेखि निरन्तर भएको सुनुवाइपछि अन्य प्रतिवादीहरुको हकमा केहीलाई थुनामै राख्ने र केहीसँग धरौटी लिई तथा केहीलाई साधारण तारेखमै छाड्ने आदेश हुँदा बालकृष्ण खाणको हकमा भने दुई न्यायाधीशको राय बाझिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा न्यायाधीश पाण्डेले खाणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिएका थिए । तर न्यायाधीश पाण्डेको रायमा अर्का न्यायाधीश प्रकाश खरेलले भने फरक राय दिई थुनामै राख्नुपर्ने आदेश गरेका थिए ।

न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिएका थिए ।