• जेष्ठ ७ २०८३, बिहीबार

बाराको सिम्रौनगढमा गोली चल्यो, एक जना घाइते

मंसिर २७ २०८०, बुधबार

सिमरा । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चलेको छ । नगरपालिकामा आन्दोलनरत शिक्षक कर्मचारीले सो नगरपालिकाका नगरप्रमुख चढ्ने गाडी तोडफोडपछि आगजनी गर्न लागेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार गरेको थियो ।
बुधवार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढेर कार्यालय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारपछि आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार गोली लागेर एक जना घाइते भएका छन् । उनलाई उपचार गर्न नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ । घाइतेको पहिचान भएको छैन ।

नगरपालिकामा ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।