बाला चतुर्दशीसँग जोडिएको एउटा कथा छ । कथाअनुसार उहिले पशुपतिको मुर्दा घाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।
त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बाला सुरको मित वृषसिंहमार्पत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।
माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्म सिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आज त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।