कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीमा चोरीका अधिकांश घटनामा किशोरहरू पक्राउ पर्ने गरेको तथ्यांक देखिन्छ । शुक्रबार भने किशोरकै संलग्नतामा कास्कीबाट बस नै चोरी भएको छ ।
बस चोरीको अभियोगमा १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार राति पोखराबाट चितवनतर्फ लैजाँदै गर्दा ग१ख ९६३८ नम्बरको बससहित १७ वर्षीय चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको बस चोरी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा बस फेला परेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्ने किशोर तनहुँ म्याग्दे गाउँपालिका वडा नं ३ का हुन् । बस लिएर चितवन जाँदै गर्दा भरतपुर महानगरपालिका वडा नंं ११ आँपटारीमा उनी चेकजाँचमा पक्राउ परेका हुन् ।
पक्राउ परेका किशोरविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।