काठमाडौं । युवाको एक समूहले शनिबार एनसेल कार्यालयअगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको सेयर खरिद–बिक्रीमा चलखेल भएको भन्दै उनीहरूले लैनचौरस्थित सो कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘छानबिनको नाममा नाटक मञ्चन बन्द गर’, ‘राज्यको कर छल्न पाइँदैन’, ‘भ्रष्टाचारीलाई चोख्याउने छानबिन समिति मान्दैनौँ’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
उनीहरूले एनसेल प्रकरणमा ठूला दलका नेताहरूको संलग्नता रहेको समेत आरोप लगाए ।
एनसेलको ८० प्रतिशत सेयर नेपालबाहिर बिक्री भएपछि सो विषयमा अनुसन्धान गर्न सरकारले समिति समेत बनाएको छ । संसदीय समितिले एनसेल सेयर खरिद–बिक्री रोक्न निर्देशन दिइसकेको छ ।