नवलपरासी । छात्रामाथि निर्घात कुटपिट गर्ने एक शिक्षकमाथि जिल्ला प्रहरी कार्यालय नवलपरासीले मुद्दा चलाएको छ । जिल्लाको सरावल गाउँपालिका-७ बर्गदवास्थित कालिका इङ्गलिस बोडिङ स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवले ९ वर्षीया छात्रा कञ्चना राजभरलाई सोमबार निर्घात कुटपिट गरेका थिए । उनी सोही विद्यालयको कक्षा १ मा अध्ययनरत छात्रा हुन् ।
शिक्षक यादवले छात्राको टाउको, पिठ्युँ र कम्मरमा निलडाम हुने गरी निर्घात कुटेका थिए । कुटपिटपछि छात्राका परिवारले प्रहरी कार्यालयमा किटानी उजुरी दर्ता गराएका थिए । उजुरीका आधारमा प्रहरीले कुटपिट गर्न शिक्षक यादवलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।
पक्राउ परेका शिक्षकमाथि बालकालिकाविरुद्धको अपराधमा मुद्दा दर्ता कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए । अपराध ठहर भएमा एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।
बिरामी भएर घरमा रहेकी छोरीलाई शिक्षक यादवले स्कुल किन नगएको भन्दै लछारपछार गरी विद्यालय लगेको र त्यहाँ लगेर प्लाष्टिकको पाइपले शरीरका विभिन्न ठाउँमा निलडाम हुनेगरी निर्घात कुटपिट गरेको भन्दै परिवारले प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।