• जेष्ठ ७ २०८३, बिहीबार

टिकटकपछि अन्य सामाजिक सञ्जालको प्रभावबारे पनि अध्ययन गर्दै सरकार

मंसिर १४ २०८०, बिहीबार

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ । प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीका अनुसार नेपालभित्र चलिरहेका विभिन्न सामाजिक सञ्जाल र लाइभ स्ट्रिमिङ एपहरूबारे आन्तरिक रूपमा अध्ययन गरिरहेको हो ।

‘नेपालमा थुप्रै सामाजिक सञ्जाल र लाइभ स्ट्रिमिङ एपहरू चलिरहेका छन् । ती एपहरू कुन समूहले के प्रयोजनका लागि चलाइरहेका छन् भन्नेबारे बुझ्न अध्ययन सुरू गरेका हौं,’ उनले भने, ‘तथ्यांक हेरिरहेका छौं ।’ उनका अनुसार यस्ता एपहरूको प्रयोग लगायतका विषयमा नेपालमा पर्याप्त अध्ययन भएको छैन । यसैकारण पनि सर्वेक्षण अघि बढाइएको हो ।

तीमध्ये सरकारले बिगो लाइभ, बम्बल, लाइक, टिन्डर, स्न्यापच्याट, ट्यानट्यान, टेलिग्राम जस्ता एपहरूमा कुन समूहका प्रयोगकर्ताहरू बढी हुन्छन् भन्ने अध्ययन गर्दैछ । तीमध्ये कतिपय डेटिङ एप, एडल्ट एप र बेटिङ एप पनि रहेका छन् ।

उनले एउटा एपको उदाहरण दिँदै भने, ‘त्यो एपमा दुई प्रतिशत पनि उपयोगी सामग्री नहुने पायौं । अनैतिक क्रियाकलापको लागि समाजमा त्यो एफ लोकप्रिय रहेछ । त्यो एप हाम्रै छिमेकी मुलुक चीनमा प्रतिबन्ध छ ।’

सूचना र प्रविधिको क्षेत्रमा विकास भइरहेको समयमा न्यू मिडियाको विस्तार पनि व्यापक रूपमा भइरहेको छ तर ती मिडियाहरूको उपयोगबारे नियन्त्रण गर्न भने आवश्यक रहेको रायमाझी बताउँछन् ।

अहिले सरकारले गरिरहेको अध्ययनमा आवश्यकता अनुसार साइबर ब्युरो, नेपाल प्रहरीहरूबाट समेत समन्वय गरिरहेको छ ।
सरकारले गत कात्तिक २७ गते लोकप्रिय सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको थियो । टिकटक बन्दका विरुद्ध अदालतमा परेको मुद्धामा भने अझै फैसला भइसकेको छैन ।