• असार ६ २०८१, बुधबार

टिकटकमाथिको प्रतिबन्ध अनुगमन गर्न छानबिन समिति गठन

मंसिर २ २०८०, शनिबार

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध अनुगमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले प्राविधिक समिति बनाएको छ । प्राधिकरणका निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक समिति बनाएको हो । प्राधिकरणको शुक्रबार बसेको बैठकले बनाएको यो समितिले सात दिनभित्र टिकटक प्रतिबन्ध कार्यान्वयनको अवस्थाबारे प्रतिवेदनसमेत दिने छ ।

समितिले टिकटक बन्द भएको वा नभएको, कुनै आईपीएसबाट चलेको वा नचलेको र बन्द गर्न भइरहेका समस्याबारे खोजी गरी प्रतिवेदन दिनेछ ।

२७ कात्तिकमा बसेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थालाई पत्र लेखेर टिकटक बन्द गर्न निर्देशन दिएको थियो ।

त्यसपछि इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् । तर, भीपीएन र डीएनएसबाट भने टिकटक चलिरहेको छ । सरकारको निर्णयपछि नेपालमा टिकटक चलाउनेको संख्या घटे पनि पूर्णरुपमा बन्द भने भएको छैन । प्राधिकरणले टिकटकको सिंगापुरस्थित कार्यालयलाई पत्र लेखेर नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न भनेको छ ।