• जेष्ठ ८ २०८३, शुक्रबार

`अहिले पनि मुटु काँपिरहेको छ,रातभर निदाउन सकेनौँ´

कार्तिक १९ २०८०, आईतवार

 

जाजरकोट र रुकुम पश्चिमका बासिन्दा अहिले शोकमा डुबेका छन्।
प्रहरीको अद्यावधिक विवरणअनुसार भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको ज्यान गइसकेको छ भने करिब २०० जना घाइते अवस्थामा छन्।

जाजरकोट जिल्ला सदरमुकामबाट नजिकै रहेको छेडा बजारमा न्यानो घाममा सुतिरहेका एक भूकम्पपीडितले भने, ‘भूकम्पले घरमा त खासै क्षति भएन तर रातिको भूकम्पको कम्पनले अहिले पनि मुटु काँपिरहेको छ। रातभर निदाउन सकेनौँ। त्यही भएर अहिले सुतिरहेका छौँ। पुराना केही घरमा भने आंशिकरूपमा क्षति भएको छ।’

भूकम्पले जाजरकोट सदरमुकाम खलङ्गामा धेरै भौतिक क्षति पुर्‍याएको छ। बस्ती उदाङ्गो देखिएका छन्। क्षतिको यकिन तथ्याङ्क नभए पनि पूर्णरूपमा क्षति भएका घर पनि धेरै छन्।

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ। प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ। तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको हो। जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरी जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको जानकारी दिए।

विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन्। जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्‍याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ। ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विकले बताए। ‘यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन’, उनले भने। तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ। भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षति भएको छ।

भूकम्प पीडितले खुला आकाश पालमुनि बसेर रात बिताएका छन्। घरहरू भत्किएका छन् भने कतिपय चिरा परेर बस्न नसक्ने अवस्थामा घर भएपछि बाहिर बस्नुपरेको उनीहरूको दुःखेसो छ। बाहिर बस्नुपरेपछि चिसोको समस्या बढेको उनीहरूको भनाइ छ। जाजरकोट भेरी नगरपालिका–२ का मानबहादुर विकले आफ्नो घर भूकम्पले भत्काएपछि अहिले केटाकेटीसहित खुला आकाशमुनि बसिरहेको बताए। ‘एउटा सानो घर थियो, त्यही पनि भूकम्पले भत्काइदियो। साना केटाकेटीका साथमा बाहिर खुला आकाशमा बस्नुपर्ने बाध्यतामा छु’, उनले भने, ‘सरकारले पालको व्यवस्था त गरिदिएको छ, यो चिसोको समयमा पालमुनि बस्न पनि गाह्रो छ।’